आसन्न १४ औं महाधिवेशनमा नेतृत्व हात पार्नका लागि नेपाली कांग्रेसका नेताहरुबीच पछिल्लो समय लञ्च मिटिङ बाक्लिएको छ।
उपसभापति विमलेन्द्र निधिले ७ असारमा आफ्नै निवास बानेश्वरमा महामन्त्री डा. शशांक कोइराला र पूर्ब महामन्त्री प्रकाशमान सिंहलाई लञ्च मिटिङ दिएका थिए। त्यसपछि महामन्त्री कोइरालाले महाराजगञ्ज र पूर्ब महामन्त्री सिंहले चाक्सीबारीमा लञ्च मिटिङ गरेपछि नेतृ सुजाता कोइरालाले मण्डिखाटारको लञ्च मिटिङ बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलालाई बोलाएकी थिइन्।
महामन्त्री कोइरालाले शनिबार महाराजगञ्जमा आफ्नै परिवारका डा. शेखर र सुजातालाई लञ्च मिटिङमा बोलाएका हुन्। यी सबै लञ्च मिटिङ महाधिबेशनमा आफूलाई सभापतिको उम्मेद्वार बनाउनमा केन्द्रित छन्। कोइराला परिवारबाट दुईजनाले सभापतिमा दाबी नछाड्ने अडान राखिरहेका बेला शनिबार भएको लञ्च मिटिङ कोइराला परिवारबाट सर्बसम्मत उम्मेद्वार बनाउनका लागि राखिएको हो।
१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक र केन्द्रीय सदस्य डा. शेखरले नेतृत्वमा दावी गर्दै आएका छन्। अर्कातिर केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि पनि ू नेतृत्वमा दावी गरेकी छन्।
संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएकोमा कोइराला परिवारबाट मात्रै तीन जना देखिएका छन्। बरिष्ठ नेता पौडेल, पूर्ब महामन्त्रीद्धय सिंह र सिटौला पनि नेतृत्वको दौडमा छन्। दुई साता अघि पौडेलको पहलमा डाकिएको संस्थापन इतर पक्षीय नेताहरुको भेलामा शेरबहादुरको बिकल्प खोज्नुपर्नेमा नेताहरु एकमत देखिए पनि सर्बसम्मत उम्मेद्वार तय गर्न भने सकेनन्। हरेकले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए।
महामन्त्री कोइराला देउवालाई हराउन सक्ने आफूमात्र भएको दाबी गर्दै आएका छन् भने डा. शेखर आफू कुनै पनि हालतमा पछि नहट्ने अडानमा छन्।
सभापति शेरबहादुर देउवा एक पटक फेरी पार्टीको नेतृत्व आफूले गर्ने भन्दै प्रदेश स्तरका आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर अधिकतम महाधिबेशन प्रतिनिधि ल्याउन निर्देशन दिएका छन्।
संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने भन्दै केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुलाई भेटेर, टेलिफोनमा कुरा गर्दै आएका छन्।