‘मान्छेबाट गल्ती हुन्छ, यदि केपी ओलीले पनि गल्ती महशुस गरेर करेक्सन गरेर आए, राजीनामा गरेर ठाउँ छाडिदिएर आए र म पनि वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन्छु भनेर आए भने चाहिँ उनलाई पनि ठाउँ दिनुपर्छ है शेरबहादुरजी!’
बिपक्षी गठबन्धनले सम्पादकहरुसँग बिहिबार गरेको अन्तरक्रियामा छेउमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेर्दै नेता नेपालले यस्तो बताएका हुन्।
ओली पक्षका दोस्रो तहका नेताहरुले अध्यक्षद्धयको अबधारणा अनुसार नेता नेपाललाई अध्यक्ष बनाएर अघि बढ्न सकिने प्रस्ताब गरे लगत्तै व्यक्त नेपालको यो भनाईले एमालेभित्र केही पाक्दै गरेको संकेत गरेको छ।
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा बिघटन गरेसँगै एमाले बरिष्ठ नेताद्धय नेपाल र झलनाथ खनालसहितका युवा पुस्ताका प्रभाबशाली नेताहरु छुट्टै समूह बनाएर अघि बढेपछि ओली समूहका दोस्रो पुस्ताका नेताहरु जसरी पनि नेपाल समूहलाई फर्काउनु पर्ने पक्षमा छन्।
एमाले स्रोतका अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाललाई अध्यक्षद्धयको अबधारणा अनुसार दोस्रो अध्यक्षको प्रस्ताब राख्दै ओलीले सरकार र नेपालले पार्टी हाँक्ने प्रस्ताब राखेका छन्। तर नेता नेपाल भने यो प्रस्ताब सहजै स्वीकार्ने पक्षमा छैनन्। उनी किन पनि यो पक्षमा छैनन् भने घनश्याम भुषाललगायतका नेताहरुको भनाई छ कि ५, ६ महिनासम्म यो अडान कायम राख्न सकियो भने ओली लम्पसार परेर आउने छन्।
महासचिव पोखरेलले यस्तो प्रस्ताव अघि बढाइरहदा युवा पुस्ताका नेताहरु भने एकल अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई साथमा लिएर अघि बढ्नुपर्ने पक्षमा छन्। यसो हुन नसके आगामी निर्वाचन एमालेका लागि कम्ति कठिन हुने छैन भन्ने उनीहरुको बुझाई छ। निर्बाचन घोषणा भइसकेपछि गरिएको मन्त्रिमण्डल बिस्तारलाई अदालतले उल्ट्याइदिएको छ। त्यसो त मन्त्रिमण्डल बिस्तारमा पनि जसपा हावी भएको भन्दै ओली पक्षीय नेताहरु नै असन्तुष्ट बनेका थिए।
अदालतले संसद पुनस्र्थापना गरिदिने पो हो कि भन्ने आशंकामा रहेका प्रधानमन्त्री ओली भरसक अदालतको फैसला आउनु अघि नै माधव नेपाल पक्षलाई मिलाएर महन्थ ठाकुर पक्षीय जसपाको समर्थनमा एमालेकै सरकार बनाउनुपर्ने आवाज बलियो छ।
नेपालले अध्यक्षको प्रस्ताव स्वीकारेर अघि बढे पनि भीम रावल लगायतका केही नेताहरु भने कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने पक्षमा छन्।
यो पृष्ठभूमिका बीच बिहिबार नेता नेपालले गल्ती गरें भनेर ओलीले महशुस गरेमा ठाउँ दिनुपर्ने प्रस्ताब राखेका हुन्। कतिपयले नेता नेपालको यो भनाईलाई संयोगमात्र नभएको भनी अर्थ लगाएका छन्।