प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक र असंवैधानिक कदमहरु चालेको भन्दै विपक्षी गठबन्धन निकट बिद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) अनेरास्वीयू माधव पक्ष, जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त रुपमा काठमाडौंको प्रदर्शनीमार्गमा सरकारबिरोधी प्रदर्शन गरेका हुन् । कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला ओली सरकार जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिएको उनीहरुको आरोप छ ।
प्रतिनिधिसधा विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको भन्दै उनीहरुले सरकारविरुद्ध नारा लगाएका थिए । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिगमनका बा भन्दै देशलाई धेरै नै क्षति भएको उल्लेख प्लेकार्ड बोकेका थिए। प्रदर्शनका क्रममा बिद्यार्थी नेताहरुले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिएका थिए ।
यसअघि बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थियो ।