नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको बताएका छन् ।
बिहीबार विपक्षी दलले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा बोल्दै देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा गराएकाले संघर्षमा उत्रनु परेको भन्दै आवश्यक परे जनपरिचालन गर्ने बताए ।
आफूले पेश गरेको १४९ सांसदको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको देउवाको भनाइ थियो ।राष्ट्रपतिबाट अस्वीकार भएपछि पाँच दल अदालत जानु परेको स्पष्ट पार्दै अदालतले असंवैधानिक काम रोक्दै आएको बताए ।
देउवाले भने,नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’ यसअघि पनि पाँच दलले विदेशी हस्तक्षेप हुन सक्ने तर्फ संकेत गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।