नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेसलाई रुपान्तरण गर्नका लागि पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई अभिभावकको भूमिकामा बसेर पुस्तान्तरण गर्न आग्रह गरेका छन्।
१४ औं महाधिवशेनमा आफू पक्षीय प्रतिनिधि ल्याउन सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुलाई प्रदेशगत रुपमा बोलाएर निर्देशन दिएपछि युवा नेताहरुले कुनै पनि हालतमा नयाँ पुस्ता नेतृत्वमा आउनु पर्ने भन्दै घनीभूत छलफल थालेका हुन्।
यसै क्रममा चन्द्र भण्डारी, दीपक गिरि, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, सरिता प्रसाई, जीवन परियार, बद्री पाण्डे, प्रदीप पौडेलले सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधिसँग भेटेर आफूहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए।
सभापतिका आकांक्षी निधिले अन्य आकांक्षीद्धय शशांक कोइराला र प्रकाशमान सिंहसँग आफ्नै निवासमा लञ्च मिटिङ गरे लगत्तै युवा नेताहरुमाझ गएर नेतृत्व फेर्ने पक्षमा भए आफूलाई सहयोग गर्न आग्रह गरे। १३ औँ महाधिवेशनपछि नेतृत्व हस्तान्तरण प्रतिबद्धता जनाएका देउवाले आफैँ दोहोरिने प्रस्ताव शनिबारको भेटमा राखेपछि निधिको सक्रियता निकै बढेको छ।
भेलामा युवा नेताहरुले निधि पछाडि हट्ने हुन् कि भन्ने झिनो आशंका व्यक्त गरेपछि उनले सकेसम्म देउवाकै उम्मेद्वारका रुपमा अघि बढ्ने र त्यो नभएमा आपूm कुनै पनि हालतमा व्याक नहुने बताए। आफूहरु पार्टीको परम्परागत गुटमा आबद्ध भए पनि सिंगो देश र पार्टीको भबिश्यका लागि दोस्रो पुस्ताबाट सभापति चयन गरिनुपर्ने पक्षमा रहेको साझा धारणा राखेका थिए। ‘‘तपाईँहरू पनि नेतृत्व परिवर्तन चाहनुहुन्छ भने मलाई साथ र सहयोग दिनुहोस्,’’ निधिले भने, ‘‘देशभर जति हिँडे मैले साथीहरूमा नेतृत्व परिवर्तनको माग सुनेको छु।’’
कांग्रेस युवा नेता गगन थापाले पार्टीको नेतृत्वमा बर्षौसम्म एकैजना हावी हुनु हाम्रो जस्तो लिवरल डेमोक्र्याटिक मुलुकमा सुहाउने काम नहुने भन्दै दलीय पद्धतिमा अनुहार बदलिइरहनु पर्नेमा जोड दिए।
उनले पुरानो पुस्ताबाट पार्टी चल्न नसक्ने भन्दै देउवा र पौडेललाई ससम्मान पार्टीमा राखेर नेतृत्व नयाँ पुस्तामा आउनु पर्ने बताए। उनले आफूहरु सभापतिको खोजीमा रहेको भन्दै नयाँ पुस्तालाई सकेसम्म सहमति गर्न र नभए स्वच्छ प्रतिस्पर्धा गरेर पार्टी कार्यकर्तामा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको छ भनेर सन्देश दिने बेला आएको उल्लेख गरे।
अर्का नेता चन्द्र भण्डारीले पुरानै अनुहार बोकेर अब हिड्न नसकिने बताए। उनले दोस्रो पुस्ताले नेतृत्वका लागि अघि बढ्न खुट्टा कमाउने हो भने आफूका तर्फबाट नेतृत्वमा दाबी गरिने प्रष्ट पारे। नेविसंघका पूर्ब अध्यक्ष गुरुराज घिमिरेले देउवा र पौडेलको डिपार्चर बिना पार्टी अघि बढ्न नसक्ने भन्दै युवापुस्तालाई व्यबस्थापन गरेर अघि बढ्न सुझाब दिए।
नेता धनराज गुरुङले २०३६ सालमा वीपी कोइरालाले मधेशबाट नेविसँघको नेतृत्व अघि बढाउन निधिको क्षमता हेरेर अध्यक्ष बनाएको स्मरण गर्दै कमजोर भएको मधेशलाई समेट्नका लागि १४ आँैं महाधिबेशनमा निधिलाई सभापतिमा अघि सार्ने उपयुक्त समय आएको बताए। अर्का पूर्ब अध्यक्ष प्रदीप पौडेलले नेतृत्वमा पहिलो पुस्ता पुनः दोहोरिनु भनेको पार्र्टी यथास्थितिमै रहनु हो भन्दै नेतृत्व परिबर्तन आजको आबश्यकता भएको बताए।
दीपक गिरिले युवा नेतृत्व बिना पार्टी अघि बढ्न नसक्नेमा जोड दिए। नेता जीवन परियारले परिबर्तनका लागि पार्टीको नेतृत्व परिबर्तन हुनुपर्ने उल्लेख गरे। केन्द्रीय सदस्य बद्री पाण्डेले देउवा र पौडेल समर्थक र प्रस्ताबक भएर १४ औं महाधिबेशमा एकताको सन्देश दिन आग्रह गरे। अर्का केन्द्रीय सदस्य सरिता प्रसाईले आगामी संसदीय चुनाब जित्नका लागि पनि पार्टीको नेतृत्वमा युवापुस्ता आउनै पर्ने बताइन्।