नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापतिको रुपमा आफूलाई अघि सारेका उपसभापति विमलेन्द्र निधिले पनि आज दोस्रो तहका नेताहरुसँग छुट्टै छलफल गरेका छन् । उनले आफ्नै निवास बानेश्वरमा नेताहरु शशांक कोइराला र प्रकाशमान सिंहलाई बोलाएर छलफल गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा इच्छा देखाउदै आफू निकटका नेताहरुसँगको छलफललाई अगाडि बढाइरहँदा निधिले पनि छुट्टै छलफललाई तिब्रता दिएका हुन् ।
उपसभापति निधिले केहीदिन अघि मात्र नेता कृृष्ण सिटौला र गत शनिबार केन्द्रीय सदस्य बलबहादुर केसीलाइ भेटेर आफूले सभापतिमा उम्मेदवारी दिन लागेको भन्दै सहयोग र समर्थन गर्न आग्रह गरेका थिए । देउवा निकट मानिएका निधिले विगतमा देउवासँग भएको सहमति अनुसार नै अगाडि बढेका हुन् ।
लञ्चमिटिङ भनिए पनि उनीहरुबीच करिब दुई घण्टासम्म देशको राजनीतिक अवस्था लगायत समसामयीक विषयमा गम्भीर छलफल भएको थियो ।
विशेषगरी कोभिड संक्रमण,सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट भएको धनजनको क्षती,पार्टीको १४ औं महाधिवेशन आगामी निर्वाचनमा कांग्रेसलाई कसरी जिताउने र विपक्षी गठबन्धनबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा भूमिका खेल्ने लगायतका ५ वटा विषयमा मुख्य रुपमा छलफल भएको बताइएको छ ।
यिनै बिषयमा केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुसँग पनि छलफल गर्ने नेताहरुबीच सहमति भएको छ । आजको छलफललाई सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेल,कृष्ण सिटौलालगायतका नेताहरुसँग साझा धारणा बनाएर अगाडि बढ्ने उपसभापति निधिले बताए।
तीन नेताबीच अनौपचारिक छलफललाई पनि निरन्तरता दिने पनि सहमति भएको छ ।कांग्रेसमा आगामी नेतृत्वका आकांक्षी मध्ये निधिलाइ सभापतिकाे लागि याेग्य र सक्षम नेताकाे रूपमा हेरिएकाे छ ।