नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादीका नेताहरू अहिले चुपचाप छन् । यतिखेर उनीहरू पद भन्दा पनि आफ्नै भविष्यकोबारेमा चिन्तित छन् । मन्त्रिपरिषद्को पुनगर्ठनपछि नेताहरू एमालेका सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् ।उनीहरू मन्त्रीपद रहुँन्जेल पार्टीमा नफर्केर एमालेमा ओलीलाई साथ दिएर बसेका थिए ।ओलीकाे ध्यान अहिले उनीहरूपट्टी भन्दा पनि नेपाल पक्ष तर्फ केन्द्रितछ ।
प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएका उनीहरूको मन्त्रीपद सर्वाेच्चको फैसलाले खोसियो । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसदपद खारेजसँगै मन्त्रीपद गुमेको हो । जेठ ६ मा सर्वोच्च अदालतको फैसलाले पूर्वमाओवादीका ७ मन्त्रीको पद गुमेको थियो । अहिले उनीहरुलाई मन्त्री पद गुमेको भन्दा पनि आफूहरु यता न उता भएकोमा दुविधामा छन् । माओवादीले केन्द्रीय कमिटीबाट हटाएको छ कि छैन र एमालेको केन्द्रीय कमिटी सूचीमा आफ्नो नाम छ कि छैन भनेर बुझ्न शुक्रबार दिउसो टोपबहादुर रायमाझी र प्रभु साह निर्वाचन आयोग पुगेका थिए । आयोगले एमालेको केन्द्रीय कमिटीलाई अद्यावधिक गरेको छैन ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादलसहितका २३ नेताहरुलाई केन्द्रीय र स्थायी कमिटीमा मनोनयन गरेका थिए । फागुन २८ गतेको बैठकले शीर्ष नेताहरुको कार्यविभाजन पनि गरेको थियो । जसअनुसार रामबहादुर थापालाई वागमती प्रदेश इन्चार्ज, प्रदेश २ को अध्यक्षमा प्रभु साह, गण्डकी प्रदेशको सहइन्चार्जमा लिला थापा, लुम्बिनी प्रदेश सहइन्चार्ज मणि थापा, सुदुरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएको थियो । त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझीलाई तोकेको थियो ।
एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले प्रश्न उठाएपछि उनीहरुको भविष्य अन्यौलमा परेको हो । एमालेभित्रको आन्तरिक विवादले गर्दा उनीहरुलाई अप्ठयारो परेको हो । विवाद मिलाउने प्रयासहरु भइरहेका छन् । तर पूर्वमाओवादी नेताहरूको उचित व्यवस्थापन हुने एमालेका दुवै पक्षका नेताहरुले बताउँदै आएका छन्।
केही दिनअघि अध्यक्ष ओलीसँग उनीहरु मध्ये एक जनाले भेट गरेर आफूहरुको भविष्यको बारेमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष ओलीले संसद विघटनसम्बन्धी अदालतको फैसलापछि पार्टीभित्र भूमिका हेरफेरको सम्भावना देखाए ।तर,नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र लेखराज भट्टलगायतले बादललाई मात्र काखी नच्याप्न प्रधानमन्त्री ओलीसँग आग्रह नै गरेका छन ।
फागुन २८ गते बसेको एमाले केन्द्रीय कमिटीको दसौं र एघारौं बैठकले पूर्वमाओवादीबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो ।
एमालेभित्र माओवादी पृष्ठभूमिका नेताहरु अप्ठ्यारोमा मात्र परेका छैनन् कि प्रचण्ड छोडेर ओलीतिर लाग्दा झनै सास्ती खेप्नुपरेको अनुभूति गरेका छन् । ओलीसँग सम्बन्ध तोड्न नचाहेका कारण बाहिर असन्तुष्टि नपोखेको एक नेताले बताए ।