नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस नेता एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उपसभापति निधिले कांग्रेस नेता बिष्टको उपचारका क्रममा निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्। निधिले नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति समेत रहनुभएका विष्टले संविधान सभा सदस्यका रुपमा समेत राजनीतिक परिवर्तनका लागि निर्वाह गरेको भूमिकाको स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदैव प्रशंसनीय र स्मरणीय रहने उल्लेख गरेका छन्।
पूर्व राज्यमन्त्री बिष्टको कोरोना संक्रमणबाट आइतबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। गृहजिल्ला सुर्खेतमा कोरोना संक्रमण भएपछि बिष्टलाई थप उपचारका लागि जेठ २६गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। त्यसअघि उनको कर्णाली प्रदेश अस्पतालमा उपचार गरिएको थियो।
बिष्ट २०७० को संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर ३ बाट नर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।