नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभर्ई कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ ।
शनिबार काठमाडौंमा प्रदेशसभा सरकारले सार्वजनिक गरेको बजेटका बिषयमा कांग्रेस संसदीय दल बागमती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरी बजेट ल्याएको टिप्पणी गरे।
उनले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका बिषयमा स्पष्ट कुरा नभएको जिकिर गरे । बानियाँले कोरोना महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाए । त्यस्तै उनले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभाका कांग्रेस सदस्यहरु र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।