गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका छन्
शुक्रबार (आज) प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।
सभामुख नेत्रनाथ अधिकारीले मतदानमा सहभागी ५८ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।