नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेका छन्।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले गरेको जनधनको क्षतिको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेस सभापति देउवाले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु।’
उनले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि निर्देशन दिएका छन्। ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
देउवाले तीन वटै तहका सरकारलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न पनि अपील गरेका छन्।