जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।
पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने विषय उल्लेख भएकाे ध्यानाकर्षण गराइएकाे छ ।जसपाभित्र एकले अर्को पक्षलाई कारबाहीको शिलशिला पनि जारी छ ।
प्रतिगमनकारी कदमलाई साथ दिएको, नेता महतोलाई किन दलको नेता बनाइएको जस्ता आरोप पनि मन्त्रीहरूलाई लगाइएको छ ।महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित ९ मन्त्री र दुई राज्य मन्त्री पाएको छ ।जसपामा ठाकुर-महतो पक्ष अहिले प्रधानमन्त्री ओलीकाे सत्ता सारथी भएका छन् भने यादव-भट्टराई पक्ष ओलीकाे विपक्षी गठबन्धमा सामेल छन् ।
जसपा भित्रकाे विवादकाे विषयमा निर्वाचन आयोगले स्पषट पार्दै दुवै पक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता नदिएर पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ।