एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले यहि जेठ ६ गते बागमती प्रदेशका लागि हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा नै भएको स्पष्ट पारेका छन्।
बिहिबार हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित आफ्नै निवास पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेता नेपालले सहयोग गर्न नसक्ने प्रष्ट पारेका हुन्।
खिमलाललाई आफूले नै उम्मेद्वारका रुपमा अघि सारेकाले त्यस बिषयमा दाँयाबाँया नहुने उनले बताएको नेपाल निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए। ’मैले खिमलालजीलाई सुरूदेखि नै अघि सारेको हो। त्यसैले यसबारेमा अरू कुरा भन्न सकिँदैन’ नेपालको भनाई भन्दै निकट सदस्यले बताए। बादलले मतदातालाई विवेकको मत प्रयोग गर्नबाट नरोकिदिनुस् भनेपछि जबाफमा नेपालले विवेक त मतदाता आफैंले प्रयोग गरिहाल्छन् भनेका थिए।
बादललाई सघाउने बिषयमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाललाई आग्रह गरेका थिए। तर बादलसँग नेपालले सघाउन नसकिने प्रष्ट बताएपछि प्रधानमन्त्रीसहितको टोली अहिले नेपाल समूहका नेताहरुलाई कसरी बादलको पक्षमा ल्याउन सकिन्छ भनेर छलफलमा छन्।
जेठ ६ गते बागमती प्रदेशका लागि हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट बादल उम्मेदवार बनेका छन्। विपक्षी गठबन्धन (कांग्रेस–माओवादी)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्। देवकोटलाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको समेत सहयोग छ।