सर्वोच्च अदालतले शपथ ग्रहणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले मंगलबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो । शपथ ग्रहण बदर गरी पुनः शपथ ग्रहण गराउन माग गर्दै सोमबार विभिन्न चारवटा रिट दायर भएका थिए ।
रिट निवेदकले माग बमाेजिम अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ । वैशाख ३१ गते प्रधानमन्त्रीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ लिएका थिएनन् । उनले राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न नमानी 'त्यो पर्दैन' भनेका थिए ।