परराष्ट्र मन्त्रालयले बिभिन्न ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ।
तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलियासहितका देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो।
परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन्। यसबाहेक अन्य सबै राजनीतिक आस्थाका आधारमा नियुक्तिको सिफारिस गरिएका छन्।
महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंका, त्रिवि कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा दक्षिण कोरिया तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर अस्ट्रेलियाको राजदूतमा प्रस्तावित भएकी छन्। यसैगरी रुसका लागि काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर चौहान, झापाका नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस गरिएका छन्।
ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी र साउदी अरबमा मेराज मुसलमानको नाम प्रस्ताब गरिएको छ। प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ। शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघि राजदूत नियुक्तिका लागि सिफारिस गरिएको बताएका छन्।
गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहोइन्जेलका लागि कार्यकाल थप गरिएको’ थियो ।