नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले विश्वासको मत लिने प्रधानमन्त्रीकाे राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको भन्दै यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेका निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको उनको भनाई छ । लुम्बिनी प्रदेशमा भएको घटना असंवैधानिक भएको निष्कर्ष बैठकले निकाल्दै लुम्विनीको सरकारलाई अवैधानिक घोषणा गरेको छ ।
त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए ।.
सोमबारमात्रै सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गरेको थियो । बैठकले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सम्पूर्ण राजनीतिक पार्टी नागरिक समाज र सबै जनसमुदायलाई सचेत र एकताबद्ध रहन अपिल गर्ने निर्णय पनि गरेको छ ।