गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थाहा पाएपछि प्रदेश सरकारले बुधबार मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो। अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त प्रयासमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
बिहिबार प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। ३ प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने जनाउ कांग्रेस संसदीय दलका नेता नेपालीलाई दिएको छ।