गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ ।कांग्रेस, माओवादी र जसपाले जनमोर्चाकोसमेत साथ पाउने भएपछि अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् ।
नेकपा विभाजनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । नेकपा माओवादी केन्द्रले चैत २५ गते २ मन्त्रीलाई फिर्ता बोलाएपछि भने मुख्यमन्त्री संकटमा परेकाे हाे ।
जनमोर्चाको समर्थनले नयाँ सरकार बन्छ भने पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्छ । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।
कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जान माओवादी सहमत भइसकेको छ ।अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्री कसलाई बनाउने त्यो पनि खुलाउनुपर्ने पर्ने व्यवस्था छ । सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।