नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिध्याउने कसम खाएको आरोप लगाएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिदा पनि विदेशीको ईशारामा काम गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका हुन्। अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरुको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गाह्रो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए।
बैठकमा बोल्दै एमाले नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले सिध्याउने लागेको आरोप लगाए। भुसालले ओलीले पार्टी कब्जा गरेर कम्युनिष्ट आन्दोलन सिध्याउन लागेको बताउदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे। विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ।
नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ। क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।