नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। सरकारको नेतृत्व गर्ने निर्णय गरेको एक सातापछि सभापति देउवाले तीन दलको बैठक बोलाएका हुन्।
बैठकमा नेकपा माओवादी केन्द्र र जसपालाई बोलाइएको छ। माओवादीले कांग्रेसको नेतृत्व स्वीकार्ने बताइसकेको छ भने जसपाभित्र यस बिषयमा दुईधार देखिएको छ। महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु ओली सरकारसँगै हिमचिम बढाउँदै आएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादबलगायतका नेताहरु भने ओली हटाएर कांग्रेसको नेतृत्व स्वीकार्न तयार देखिएका छन्।
बैठक देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने बताइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।