स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणलाई हेर्दा नेपालमा पनि आउने जेठ र असारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भारतमा बढिरहेका कोरोना संक्रमितको संख्याले सरकारलाई सचेत बनाएको समेत बताए। अब बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने बताए।
उनले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरे।
मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताए। आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै उहाँले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको बताए।