सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा निर्णय गर्न बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तत स्थगित भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने भनिएको बैठक केही स्थायी समिति सदस्यहरु उपत्यकाबाहिर रहेकाले स्थगित गरिएको बताइएको छ ।तर,सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा आवश्यक गृहकार्य नपुगेका कारण पनि बैठक स्थगित भएको स्रोतले बताएको छ ।
माओबादी नेताहरु अहिले जोजो सँग मिलेर प्रधानमन्त्री ओलीलाई हटाउन सकिन्छ त्यसैसँग छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि माओवादी नयाँ सरकार निर्माणका लागि बाटो खुलेको भन्दै निकै खुशी भएको छ ।
आफू सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि राजीनामा मात्रै माग्दै हिड्ने माओवादीको दोहोरो चरित्र बुझिनसक्नु भएको राजनीतिका जानकारहरु बताउँछन् ।सर्वाेच्चको फैसलापछि दुबै पार्टी एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किदासम्म पनि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । प्रधानमन्त्री ओलीले हिजो मात्रै राजीनामा माग्दै हिड्ने दलहरुलाई आफ्नो समर्थन फिर्ता लिए राजीनामा त आइहाल्छ नी भनेका थिए ।