नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस तरुण विभागले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताए। उननले भने, “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ। टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन।”
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको अहिलेको अबस्थामा मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् त्यो हेरेर कांग्रेसले आफ्नो रणनीति तय गर्ने उनको भनाई थियो।
सभापति देउवाले आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। सभापति देउवाले स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, “जनता मालिक हुन्। नोकर होइनन्। भाषण गरेर मत दिँदैनन्। जनताको सुख दुःखमा साथ दिनुस्। निर्वाचन जितिन्छ।” कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य एनपी साउद, शङ्कर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताए। अहिले देश संकटमा जान लागेको भन्दै उनीहरुले देशलाई सही बाटोमा हिडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताए।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घका केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नयनसिंह महर, तरुणदल वाग्मती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायत मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा बोलेका थिए।