नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको दाबी गरेका छन्। न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उनले उल्लेख गरे।
कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन गलत भएको बताए। महासचिव विप्लबले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरे।
उनले भने ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ। न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन। हामीले गल्ति गरेका छैनौ।’ उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए। न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी गरे।
उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे। ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए। मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए।
‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो? उनले प्रश्न गरे। ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ। तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझै पनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने संकेत गरे।