नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिको अक्षरस पालना गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र कुरा नभएको भन्दै यो भित्र एउटा महान आकांक्षा रहेको बताए ।
नेपाललाई आत्मनिर्भर,स्वाधिन र सुन्दर देश बनाउँने सपना सहमति पत्र भित्र रहेको महासचिव विप्लवले बताए ।
यस्तै यो भित्र देशमा दीर्घ शान्ति,स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको संमृद्धिको आकांक्षा,नेपालका युवाहरुभित्र हुर्किएको एउटा संमृद्ध जीवनको चाहना यो भित्र रहेको चर्चा गरे ।साथै उनले यो विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्न सक्ने दावी गरे । महासचिव विप्लवले प्राप्त अवसरलाई राष्ट्र र नेपाली जनताको हितमा उपयोग गर्ने बताए ।
सहकार्य र हातेमालो गरेर अगाडि बढन तयार रहेको उनले बताए । कुनै विदेशीले हमला गर्न खोज्यो,हेप्न खोज्यो भने हाम्रो यो जीवन धर्तीमा गाडीने छ तर झुक्ने छैन,उनले भने ।विभिन्न क्षेत्रबाट वार्तालाई सफल गराउन भूमिका खेलेकाहरुप्रति पनि उनले धन्यवाद व्यक्त गरे ।