राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभा बिघटनको समयमा पनि राष्ट्रियसभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफू मातहतका गतिविधिहरु निरन्तर भइरहेको बताएका हुन्।
राष्ट्रियसभामा दर्ता भएको अन्तरदेशीय संगठीत अपराध विरुद्धको महासन्धी अन्र्तगतको पार्लिमो प्रोटोकललाई पनि पारित भएको भन्दै उनले राष्ट्रिय र जनताका सवालमा राष्ट्रिय सभा सदस्यहरुले सकारात्मक भूमिका खेलेको जिकिर गरे ।
त्यस्तै उनले समितिमा हुने दोहोरोपनालाई हटाउन र एकरुपकताका साथ अघि बढ्न अध्ययन र छलफलको खाँचो रहेको धारणा व्यक्त गरे । संघीय संसदलाई सफल बनाउन संसद सचिवालयदेखि सवै सरोकार निकायको भूमिका अपरिहार्य रहेको उनले बताए ।
त्यस्तै अध्यक्ष तिमिल्सिनाले अहिलसम्म २ सय २२ वटा बैठक बसेको र ४१ वटा विधेयकहरू दर्ता भएको जानकारी दिए । त्यस्तै १६ वटा विधेयक प्रमाणीकरण भइसकेको उनले बताए ।