विभिन्न विश्वविद्यालयका १० जना पूर्बउपकुलपतिहरुले बिबादास्पद बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएर सरकारले अराजकता प्रस्तुत गरेको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा काठमाडौं विश्वविद्यालयले बिबादास्पद बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको बिरोधमा १० उपकुलपतिहरुले बुधबार संयुक्त बिज्ञप्ति निकाली यस्तो माग गरेका हुन्। गैरकानुनी र गैरजिम्मेवार तरिकाले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको उनीहरुको भनाइ छ।
विश्वविद्यालयको स्वायत्तता र सुशासनको प्रश्न र तिनको जर्गेना चुनौतीको रुपमा खडा भएको विज्ञप्तिमा उल्लेख छ। बिज्ञप्तिमा भनिएको छ,‘ऐनको उपेक्षा गर्दै थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर गैरकानुनी र गैरजिम्मेवार कार्य गरिएको छ।’
केदारभक्त माथेमा, केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा, महेशकुमार उपाध्यक्ष, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, कमलकृष्ण जोशी, हिराबहादुर महर्जन, नविनजंग शाह र नरेशमान बज्रचार्यले विज्ञप्ति जारी गरेका हुन् । ‘ऐन कानुनको मर्यादाभित्र रहि, त्यसलाई आवश्यक सुधार गरी चिकित्सा शिक्षा विस्तार गर्नुको सट्टा राज्यबाट अराजकताको व्यवहार हुनु बिडम्बनापूर्ण कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वयत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरु दबाबका कारण प्राज्ञिक मर्यादा विपरित निर्णय गर्नु दुर्भाग्यको कुरा हो ।’ उनीहरुले निर्णय सच्याएर प्राज्ञिक मर्यादाको संरक्षण गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार झापा पुगेर उक्त कलेजलाई केयूबाट सम्बन्धन दिइ छाडिने बताएका थिए।