चौथो संविधान दिवसको अबसरमा मकवानपुरको मनहरी गाउँपालिकास्थित राप्ती नदीमा निर्माण भएको पक्की पुलको उद्घाटन गरिएको छ ।
पक्की पुलको उद्घाटन गर्दै ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुलको स्थायित्वको कामना गरे ।
उनले मनहरी गाउँपालिकाभित्रका गाउँहरुमा उत्पादन भएका बस्तुहरुको निकासीका लागि पुलले ठूलो भूमिका खेलेको भन्दै बाढीको जोखिमबाट हुने मानवीय क्षतिलाई समेत कम गरेको बताए ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पक्की पुल संघर्ष समितिका अध्यक्ष केशव सुवेदीले पुल निर्माणका लागि भएको पहलकदमी र संघर्षबारे जानकारी गराएका थिए ।
पुल उद्घाटनसँगै मनहरी गाउँपालिकाले गत आर्थिक बर्षमा भएका कामको प्रगति पनि सार्बजनिक गरेको थियो । सोही अबसरमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिहरु, विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने मनहरी गाउँपालिकाभित्रका प्रतिभालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको थियो ।
कार्यक्रममा प्रदेश सांसदहरु जुनेली श्रेष्ठ, ओमबहादुर घलान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, पूर्व सभासद राजाराम स्याङ्तान, विभिन्न पार्टी प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।