नेकपा दाहाल-नेपाल पक्षले संयुक्त सरकार गठको विषयमा प्रमुख दलहरूसँगकाे छलफल अगाडि बढाएकाे छ ।
यस क्रममा बिहीबार जनता समाजवादी पार्टीसँग छलफल गरेको छ । कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।दाहाल–नेपालले बुधारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर सहकार्य प्रस्ताव गरेका थिए ।
संसद विघटन हुँदा आन्दोलनमा पनि सँगसँगै जस्तो गरिएकाे भन्दै साे समूहले सरकार गठन पनि मिलेरै गराैं भन्ने प्रस्ताव जसपाका नेताहरूसँग गरेकाे छ। तर, दाहाल–नेपालले राखेको प्रस्तावमा जसपा नेताहरुले केही सर्त अगाडि सारेका छन् ।
नेकपा कानुनी रुपमा विभाजन नभइसकेकाे हुँदा पहिला क्लियर हुनुपर्छ भन्दै जसपाका नेताहरूले संविधान संशोधन, रेशम चौधरीको रिहाईका कुराहरू अघि सारेका छन् ।प्रतिनिधि सभामा जसपाका ३२ जना सांसद छन्। ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्।
छलफलमा नेकपाले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने जनाएको थियो ।
अध्यक्ष दाहालले ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।सहकार्य गर्ने हो भने एकआपसमा समस्या नआउने गरी सहकार्य गर्नुपर्नेमा जाेड दिइएकाे छ ।छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य श्रेष्ठ सहभागी थिए ।