प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाकाे बुढानिलकण्ठस्थित निवासमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा हुने बताइएकाे छ।
बैठकमा सभापति देउवाले बुधवार नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भेटेर सरकार सञ्चालनका लागि गरेका प्रस्तावहरूका बारेमा जानकारी गराउने एक नेताले बताए । उनीहरूसँगकाे छलफलमा देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएपछि आज पदाधिकारी बैठक बोलाएका हुन् ।
अहिले काँग्रेसलाइ नेकपाका दुबै पक्षले मिलेर सरकार सञ्चालनकाे प्रस्ताव गर्दै अाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ ।
कांग्रेसकै कतिपय नेताहरू भने फेरि जनताबाट चुनिएर नआएसम्म सरकारमा नजाने बताउँदै आइरहेका छन् ।संसद अधिवेशन शुरू भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै दाहाल-नेपाल समूहले अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी गरेको छ ।