नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बिघटनको निर्णयलाई सर्वोच्च अदालतले नै बदर गरिसकेपछि बिघटनको निर्णय गर्ने प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक आधार गुमाएका कारण सत्तामा बस्ने अधिकार नभएको निधिको भनाई थियो।
महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीका अबसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा गरेको अहिंसा र शान्तिः आजको सन्दर्भ बिषयक कार्यक्रममा उपसभापति निधिले सर्वोच्चको फैसलासँगै संसदीय प्रक्रिया शुरु भएको उल्लेख गरे। उनले अब शुरु हुने प्रतिनिधिसभा बैठकमा कांग्रेसको सक्रिय र जिम्मेवारी भूमिका प्रारम्भ हुने बताए।
दुई समूहमा रहेको सत्तापक्षको विवाद निर्वाचन आयोगले छिनोफानो गर्नुपर्ने उनको भनाई थियो। नेकपाको आधिकारिक अध्यक्ष को हो जनताले थाहा पाउनु पर्ने भन्दै कांग्रेस उपसभापति निधिले नेकपा डबल, सिंगल, आधा, स्क्वायर के हो उहाँहरुले नै प्रष्ट पार्नुपर्ने बताए।
कांग्रेस संसदमा आफ्नै संख्याले सरकार बनाउन सक्ने अबस्थामा नरहको भन्दै उनले अन्य दलले बनाउन नसकेर कांग्रेसको सरकार हेर्न चाहन्छौ बनाउ भनेमा त्यसबारे आफूहरुले सोच्ने उल्लेख गरे। निधिले अहिलेको जटिल राजनीतिक परिस्थितिमा कांग्रेसले अख्तियार गर्ने निर्णयप्रति जनताले बिश्वास गर्ने आशा व्यक्त गरे।