प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । दुई महिनाको बहसपछि सर्वोच्चले हेर्दाहेर्दैको पेसी तोकेको हो ।सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको थियाे ।
फागुन ७ गते सबै बहस सकिएकाे हाे।इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए ।पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
उक्त मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फैसला आज वा कुनै पनि बेला आउन सक्ने बताइएकाे छ।पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ ।