नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराजधिराजको शैलीमा निरकुंश र स्वेच्छाचारी रुपमा अघि बढेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा अध्यक्ष प्रचण्डले केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुने र नेपाली जनताको विजयी हुने उल्लेख गरे।
आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको उनको भनाई थियो। पार्टी एकताको तीन वर्ष नपुग्दै ओली एकताका बेला गरिएको सहमति र चुनावी घोषणापत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढेको प्रचण्डले उल्लेख गरे।
ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको दाहालले बताए। उनले प्रधानमन्त्री ओलीले जनताको सपनामाथि कुठाराघात गरेको आरोप लगाए।
सभालाई सम्बोधन गर्दै नेकपा नेता घनश्याम भुषालले नेकपा र सरकारलाई कब्जा गरेको आरोप लगाए। ओलीको नेतृत्वको पार्टी समृद्ध र समाजवादको बाटोमा हिड्न नसकेको उल्लेख गरे।