राष्ट्रियता र प्रजातन्त्र सबल तुल्याउन राजसंस्था सहितको प्रजातन्त्र आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जनप्रदर्शन गरेको छ।
राप्रपा पाँचथरको आयोजनामा आइतबार सम्पन्न जनप्रदर्शनको क्रममा नारा जुलुस गर्दै फिदिम बजार परिक्रमा गरीएको थियो ।
राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै र्याली सम्पन्न गरिएको थियो। र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक भएको बताए।
राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको प्रमुख चुनावी मुद्दा हुने बताए। तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिनु अहिलेको प्रमुख कार्य भएको अर्का केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले बताए।
प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाई, राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशी, जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगति नहुने बताएका थिए।
सो क्रममा विभिन्न दल परित्या गरी ४३ जना राप्रपामा प्रवेश गरेका थिए।