अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन पुगेको छ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीले अदालत र इजलासको सम्मान गर्नुपर्ने भए पनि इजलासलाई निन्दा र हास्यको विषय बनाइएको तर्क गर्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य निवेदन लिएर आइतबार सर्वोच्च पुगेका हुन्।
“सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य हुँदैन। त्यसैले म कसैको तर्फबाट पनि वकालतनामा नलगाएर अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा तटस्थ बसेको एक जिम्मेवार कानुन व्यवसायीले विपक्षीको अमर्यादित बोली र व्यवहारले अदालतको अवहेलना भएको महसुस गर्दै अदालत र इजलासको साख बचाउन आफैँ यो निवेदन गर्न आएको छु,” उनले भनेका छन्।
निवेदनमा उनले अगाडि भनेका छन्, “मैले दिएको प्रस्तुत निवेदनको आधारमा विपक्षीका विरुद्ध आवश्यक कार्यविधि अपनाई स्वयम् अदालतमा झिकाई विपक्षीलाई सम्मानित अदालतबाट अदालतको अवहेलनामा कारवाही चलाई निजलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजायसमेत गरी पाउँन सम्मानित अदालतलाई सादर अनुरोध गर्दछु।”
माघ ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिल पनि लिएर गएछन् तमाशा देखाउन’ भन्दै सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ जस्तो शब्द प्रयोग गरेका थिए।