नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको र संसद बिघटन नयाँ संस्कृति निर्माणको बहस भएको बताएका छन्।
शनिबार काठमाडौंमा माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा नेता भट्टराईले संसद पुनस्थापनाको विषयलाई प्रचण्ड र माधवको मुद्दाका रुपमा बुझे देशमाथि खतरा आउने बताए। नेता भट्टराईले केपी ओली समूह अराजनीतिक समूह भएको भन्दै पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको धारणा राखे।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपा पुनर्गठन गरिएको बताए।
पौडेलले पार्टी एकताका क्रममा भएका कमिकमजोरी सच्याए नेकपालाई नयाँ जीवन दिइने उल्लेख गरे।
जनताको माग एकता तिर रहेको र जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन नसकिएको भन्दै उनले समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखे। कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा र्पुयाउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने र नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उनको भनाई थियो।