पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाको बिरोध प्रदर्शनका कारण राजधानीको यातायात अस्तव्यस्त भएको छ।
अपरान्ह १२ बजेदेखि प्रदर्शन हुने भनिए पनि कार्यकर्ताहरुले बिहान ९ बजेदेखि नै खासगरी रत्नपार्क क्षेत्रको मुल सडकमा कब्जा जमाएका थिए। रत्नपार्क र भद्रकाली क्षेत्र पुरै खाली गराएर स्टेज बनाउन कार्यकर्ता खटिएका छन्। रत्नपार्कदेखि भद्रकालीसम्मको सडक कब्जा गरेका कार्यकर्ताले पद्मोदय मोडसम्म टी आकारमा सभा गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड माधब समूह पुनस्र्थापनाको माग राख्दै सडक संघर्षमा उत्रिएको छ। आजको कार्यक्रममा उनीहरुले एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने दाबी गरेका छन्। बिरोध प्रदर्शन शुरु हुनुअघि काठमाडौंका बिभिन्न भागबाट नारा जुलुससहित कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका छन्।
बिभिन्न नाकाबाट नेतृत्व गर्नका लागि पार्टी नेताहरुलाई खटाइएको छ। प्रदर्शनी मार्गमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्तिबाटिकामा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेजमा देव गुरुङ र रामकुमारी झाँक्री, वाल्मिकीमा अमृत बोहोरा र मुकुन्द न्यौपाने, कुपन्डोलमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायत, माइटीघरमा गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेललगायत, डिल्लीबजारमा वर्षमान पुन, वेदुराम भुसाललगायत, लैनचौरमा भीम रावल, शक्तिबहादुर बस्नेत लगायत, त्रिपुरेश्वरमा देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पौडेललगागत खटिएका छन्।