नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गरेको हो । यसै क्रममा प्रतिनिधिसभा विघटन विरूद्द शनिवार वसन्तपुरमा कांग्रेसले प्रदर्शन गरेको थियो ।
प्रदर्शनपछि आयोजित सभामा कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनले बताए । नेता सिंहले मुलुकमा निर्वाचनको घोषणा गरेपनि निर्वाचनमा जाने आँट नेकपाका नेताहरुमा नभएको तक गरे ।
सभामा नेविसंघका महामन्त्री मनोज बैद्यले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्रको हत्या गरेको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार निरंकुशतर्फ गएको भन्दै आफुहरुले यसअघि नै आवाज उठाएको र अव पनि ओली प्रवृतिको विरोध जारी राख्ने बताए ।
यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।