नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन्।
पर्वत जिल्लाको शंकर पोखरीमा बिहिबार आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरेको बताए। ओलीले चुनाब नगराउने बताउँदै उनले प्रश्न गरे ‘चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’
ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ थियो। सर्वोच्चमा विचाराधीन मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उनले प्रष्ट पारे।
उनले अदालतले विवेक प्रयोग गर्नेमा बिश्वास व्यक्त गरे। देउवाले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्ने उल्लेख गरे। न्यायपालिकालाई दबाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताए।