प्रतिनिधिसभा विघटनको मुद्दाले ठूला भन्ने विभिन्न दलभित्र दुई धार खडा गराएको छ ।
यही मुद्दाले प्रमुख सत्तारुढ दल नेकपा त अब औपचारीक रुपमा छुट्टिएको घोषणा मात्रै हुन बाँकी छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,जनता समाजवादी लगायतका पार्टीभित्र पनि नेताहरु दुई धारमा विभाजित भएको देखिन्छ । एक पक्ष प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सडक आन्दोलन गरेर भए पनि प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्छ भन्ने पक्षमा लागेको छ भने अर्काे पक्ष निर्वाचन प्रति नरम बन्दै गएको देखिन्छ ।
कांग्रेसमा त देउवा पक्ष सुरु देखि नै स्पष्ट रुपमा निर्वाचन तर्फ नरम देखिदै आएका हुन् भने पौडेल पक्षले मात्रै आन्दोलनमा जानुपर्छ भनेर जोडबल लगाएका हुन् । यसैगरी अहिले संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको जनता समाजवादी पार्टी(जसपा) भित्र पनि एउटा पक्ष निर्वाचनको पक्षमा देखिन थालेको छ।
पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई,उपेन्द्र यादव समूहका नेता भने दाहाल—नेपाललाई बल पुग्ने गरी प्रतिनिधिसभा पुनःस्थापनाकै पक्षमा लागि परेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो,शरतसिंह भण्डारी अदालतको निर्णय निर्वाचनको पक्षमा भए त्यसबाट पार्टी भाग्न नहुने तर्फ माहोल बनाउन लागेका छन् । अदालतको फैसलालाई इन्कार गरेर जान नहुँने र नसकिने ठाकुर पक्षका नेताहरुको भनाई छ ।
यद्यपी प्रतिनिधिसभा विरुद्ध जसपाले सडक आन्दोलन गर्दै आएको छ ।उसले घोषणा गरेको दोस्रो चरणको आन्दोलन माघ ७ गतेसम्मलाई तय भएको छ । जसपाले अहिलेको राजनीतिक गोलचक्कर भन्दा पनि संविधान संशोधनमा जोडदिँदै आएको छ।