नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले असंंंवैधानिक ढंगबाट संसद विघटन गरेर मुलुकलाई प्रतिगामनको दिशातिर अघि बढाएको बताएका छन्।
जनकपुरधाम–८ मा आइतबार सहिद सत्यनारायण पाठकको सालिक अनावरण गर्दै उपसभापति निधिले मुलुकलाई प्रतिगमनको बाटोमा लगेर गणतन्त्र र संघीयता उल्टाउने प्रयास भइरहेको बताए। परिवर्तनका एजेण्डालाई उल्ट्याउन खोज्नेहरु आफै परास्त हुने उनको बिश्वास थियो। उनले प्रधानमन्त्रीको असंवैधानिक कदमका बिरोधमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गरे।
सर्वोच्चमा बिचाराधिन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम फैसला अदालतले गर्ने भएकोले आफूहरु फैसलाको पर्खाइमा रहेको निधिले उल्लेख गरे। अदालतबाट पुनःस्थापना वा निर्वाचनमात्र अहिलेको विकल्प रहेको भएको भन्दै उनले कांग्रेस दुबै बिकल्पमा खुला रहेको बताए। लोकतन्त्रमा विश्वास गर्ने दल भएकोले कांग्रेस चुनावबाट नभाग्ने उनले बताए। गत निर्वाचनमा जनताले कम्युनिष्टलाई मत दिएर जिताएको भए पनि कम्युनिष्टहरुलाई सत्ता नपचेर संसद बिघटनको बाटो रोजेको निधिको भनाई थियो।
पञ्चायतकालमा सरकारले निजी जमिन हडपेको थियो। त्यसैको बिरोधमा जनता सडकमा उत्रिएका थिए। त्यसक्रममा प्रहरीको गोलीबाट पाठकको हत्या गरेको थियो।