पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिशेष कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ ।
समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन पनि माग गरेको छ । शाहको जन्मस्थान गोरखा दरबारको संरक्षण गरी संग्राहलय बनाउन, पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्न पनि समिति माग गरेको छ ।
पत्रकार सम्मेलनमा बाम राजनीतिज्ञ राधाकृष्ण मैनालीले मुलुक भ्रष्टाचारमा डुवेको भन्दै यसमा खवरदारी गर्र्दै दिवस मनाउनुपर्ने बताए ।
पूर्वप्रधानसेनापति रुक्माङगद कटुवालले नेपाललाई एकतावद्ध गर्न पनि पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।
त्यस्तै अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वाभीमान बचाउनका लागि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन आग्रह गरिन् ।
समितिले काठमाडौँको शान्टिबाटीकामा पुस २७ गते विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने मुख्य नारा तय गरिएको समितिले जनाएको छ ।