नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन्।
व्यास नगरपालिकाको बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटनका लागि तय गरिएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले अबरोध गरेपछि बिहीबार उद्घाटन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरू लोकतन्त्रवादी नहुने भन्दै लोकतन्त्रका लागि नभई झापा काण्डमा व्यक्ति हत्या मुद्दामा ओली १४ वर्ष जेल बसेको बताएका हुन्।
उनले भने, ‘कहाँबाट लोकतन्त्रका लागि बसे? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’ ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सुध्रने त कुनै छाँट छैन। कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्,’ उनले भने।
राष्ट्रवादको कुरा गर्ने ओलीले हालै तीन घन्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’सँग कुराकानी गरेको उनको भनाइ छ।