प्रमुख सत्तारुढ दल नेकपाको विवाद अहिले स्थिर देखिएको छ। दुई अध्यक्षबीच खासै संवाद हुन सकिरहेको छैन ।
पार्टी भित्रको अन्तरद्वन्द्व उकुसमुकुसर्पूणनै छ । दुई अध्यक्षको प्रस्ताव सचिवालय बैठकमा थन्किएको छ । कार्यसूची बनाएर छलफल अगाडि बढाउने कुरामा सहमति जुट्न सकेका छैन ।
बैठक सहज ढंगले अगाडि बढाउने हो भने प्रचण्डको प्रस्तावलाई फिर्ता गर्नुपर्ने ओली पक्षको अडान यथावत छ । दुबै नेताको प्रस्तावमा एकअर्काको कमिकम्जोरी औल्याइएको छ भने कतिपय आरोपहरु पनि मिसिएका छन् ।
ओली सहभागि नभएपछि बुधबारको बैठक अगाडि बढ्न सकेन । प्रस्ताव नै बैठकको तगारो मानिएको छ । सचिवालयमा प्रस्तुत सबै दस्तावेज फिर्ता गरेर साझा प्रस्ताव बनाएर भदौ २६ को समझदारी कार्यान्वयन गर्ने दिशामा ओली पक्ष अग्रसर भएको देखिन्छ ।
पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री तथा अध्यक्ष ओेलीेले संवाद,छलफल र रणनीतिका लागि थप तीन दिनको समय पाएका छन् । यो बिचको समयमा उनले नयाँ रणनीति अपनाउँछन् कि संवादमा नै जोड दिन्छन् भन्ने चासो सबैतिरबाट व्यक्त भएको छ ।लिखित प्रस्ताव पेश नहुँदासम्म बारम्बार भेटवार्ता हुने दुई अध्यक्षबीचको भेटघाट पछिल्ला समय ठप्प जस्तै छ ।
प्रधानमन्त्री ओलीका लागि अहिले सबै भन्दा जटिल समय भएको छ। उनी अहिले घेराबन्दीमा परेका छन् ।ओली निकटका नेताहरु प्रचण्डसँग सहमति गरेर जाने प्रस्ताव अघि सार्दैछन् । प्रधानमन्त्री ऐक्लै हिड्ेर निष्कर्ष निस्कने अवस्था पनि छैन । अहिलेको नेकपाको झगडा भनेको ओलीले दुई मध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने नेपाल र प्रचण्डको धारणा हो ।
ओलीले दुई मध्ये एक पद छाडेको खण्डमा नेपाल र प्रचण्ड मध्ये एकले हात पार्ने छन् । आफू निर्वाचित अध्यक्ष र जनताले चुनेको प्रधानमन्त्री भन्दै कुनै पनि पद छाड्न उनी त्यति राजी देखिएका छैनन्। महाधिवेशनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्छु भन्दै हिड्ेका प्रधानमन्त्री ओलीको लागि पुरै कार्यकाल सरकार चलाउने इच्छा देखिन्छ ।
अहिलेकै अवस्थामा ओली पार्टी अध्यक्ष रहिरहन ४ महिना बाँकी छ भने प्रधानमन्त्रीका लागि कम्तीमा दुई वर्षको समयछ । बहुमत र अल्पमतको खेल बन्द गरेर सहमतिकै आधारमा एउटा निचोडमा पुग्नुपर्छ भनेर एकथरी नेताहरु जोडतोडले लागेका छन् ।