नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
गृहजिल्लामा रहेका नेता पौडेललाई निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो। तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको दाबी गरेका छन्। नेता पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
वरिष्ठ नेता पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्। पौडेलले तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो।
कांग्रेस नेता पौडेलले पुल उद्घाटन गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल ¥यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।
नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। तर उनी पुल उद्घाटन गर्न अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीको भनाई छ।