सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रमा बिबाद भइरहेका बेला शनिबार सो पार्टीका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताबिरोधीको आरोप लगाउँदै उनकै गृहनगरमा ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेका छन्।
पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनाबश्यक रुपमा आक्षेप लगाएको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्। राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डेलाई ओली पक्षीय कार्यकर्ताले लखेट्ने प्रयाससमेत गरेका थिए। त्यसक्रममा पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि पाण्डेबिरुद्ध नाराबाजी भएको हो।
पार्टीको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि यस विषयमा कुरा नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध खनिएको भन्दै कार्यकर्ताले कार्यक्रम नै बिथोलिदिएका थिए।
चितवनमा भएको सो घटनाको पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले घटना सुनियोजित भएको भन्दै छानविनको माग गरेका छन्।
शनिबार साँझ छुटछुट्टै बिज्ञप्ति जारी गर्दै नेपाल र खनालले पण्डेबिरुद्ध सुनियोजित रुपमा अभद्र व्यबहार तथा नाराबाजी गरेको भन्दै सो घटनाको भत्र्सना गरेका छन्।
बिज्ञप्तिमा नेपालले भनेका छन्, ‘सभ्य, सुसककस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जोसुकै भएपनि छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु।’
अर्का बरिष्ठ नेता खनालले बिज्ञप्तिमा भनेका छन्,’कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।’
खनालले कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराएका छन्।
पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन नेता खनालले सम्पुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।