प्रमुख सत्तारूढ दल(नेकपा)मा अहिले न बसि सुख न उठी सुखको अवस्था छ । अध्यक्ष प्रचण्डको प्रस्तावले ओलीलाई विझाएपछि उनी निकटका दोस्रो तहका नेताहरु साँझ विहान नभनी प्रस्ताव फिर्ता गराउन खुमलटार धाइरहेका छन् ।
आज पनि नेताहरुले भेटघाट गर्दैछन् । शुक्रबार महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको पत्रको जवाफ दिने स्थिति आउन नदिन नेताहरु सहमतिको खोजिमा लागेका हुन् । नेताहरुलाई थाहा छ कि ओलीले दिने जवाफ आरोप भन्दा पनि कडा हुनेछ ।
तसर्थ त्यो अवस्थाले पार्टीलाई जुट होइन फुटको स्थितिमा पुरयाउने देखेर नेताहरु प्रचण्डलाई फकाउन लागि परेका हुन् । हिजोको दिनसम्म प्रचण्ड आफ्नो प्रस्ताव फिर्ता लिने पक्षमा छैनन् ।
बैठकमा दुई अध्यक्षको संयुक्त प्रस्ताव आउनु पर्नेमा एकल रुपमा आएको प्रस्तावले माहोल विगारेको नेताहरुको भनाईछ । त्यसो त अध्यक्ष प्रचण्ड पनि एकताको डोरी चुँडाउने पक्षमा छैनन् । उनी सबैसँग छलफल गरे अघि बढ्ने पक्षमा छन् ।
प्रस्तावमा अन्य चार भाईको पनि भावना रहेको हुँदा उनी एक्लैले प्रस्ताव फिर्ताको निर्णय गर्न सक्दैनन् ।यस विषयमा प्रचण्डले अन्य नेताहरुसँग पनि छलफल गर्ने स्रोतले बताएको छ ।ओलीका विशेष दूत पौडेलले अवसरलाई सदुपयोग गरौं यो गुम्यो भने स्थिति गाहे हुन्छ भनेर प्रचण्डलाई डरत्रास देखाएका छन् ।
अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावलाई फिर्ता लिएर ओलीसँग मिलेर प्रस्ताव ल्याउन नेताहरुले जोड दिइएका छन् । यो प्रस्ताव पार्टीलाई फुटबाट जोगाउने विकल्प भए पनि प्रचण्ड पक्षधर नेताहरु पछाडि फर्कने स्थिति हत्तपत्त देखिदैन ।
प्रचण्डको एकल प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिएका ओलीले परिस्थिती नबदलिए तेस्रो सचिवालय बैठकमा शब्दशब्दको जवाफ सहित उपस्थित हुनेछन् ।