लुम्बिनी प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले कपिलवस्तुलाई तराईमा पाइने फलफुलको हब बनाईने बताएकी छन्।
प्रदेशका विभिन्न जिल्लामा किसानको समस्या, गुनासो बुझ्ने क्रममा बिहिबार कपिलवस्तु आइपुगेकी मन्त्री पौडेलले पत्रकारहरुसँगको छलफलमा यस्तो बताएका हुन्।
मन्त्री पौडेलले उत्पादन तथा विक्रिको आधारमा कृषकलाई अनुदान दिने बताइन्। मह उत्पादन गर्ने किसानले उत्पादन गरेर विक्रि गरेपछि प्रति केजी २५ रुपैंया अनुदान दिइने तथा ठाँउ ठाँउमा संकलन केन्द्रको निर्माण गर्ने र अभिलेखको आधारमा अनुदान दिइने पनि मन्त्री पौडेलले आश्वासन दिइन्।
साथै, बाख्रा पालक किसानलाई प्रति केजी २५ रुपैंया अनुदान दिने तथा विउ उत्पादन गर्ने किसानको हरेक सामुदायमा उत्पादनको आधारमा अनुदान दिइने उल्लेख गरिन्। ‘करार खेतीका लागि सरकार आफैँले जग्गा दिन्छ, १ वर्षको पैसा प्रदेश सरकारले तिर्नेछ, त्यसपछि दोस्रो वर्ष ५० प्रतिशत किसान आफैले तिर्ने र तेस्रो वर्ष किसान आफैँले २५ प्रतिशत तिर्नेछन्,’ मन्त्री पौडेलले भनिन्। यसबाट किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न सकिने र त्यसैबाट जनजीवन उकास्न सकिने बताइन्।
अनुगमानका क्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख दीपक भुसाल लगायतको उपस्थिति थियो।