नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रदर्शन गरेका छन्।
मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा मंगलवार धर्ना दिएका हुन्।
कात्तिक ६ गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन्। मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन्।
शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए। पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो।
चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ।