सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका सम्बन्धमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पुन विवाद शुरू भएकाे छ।
बिबाद समाधानका लागि मंगलबार बिहान प्रधानमन्त्री ओली र दाहालबीच छलफल भएको थियो। जुन छलफललाई ओली र दाहाल पक्षले आआफ्नै ढंगले ब्याख्या गरेका छन्। अध्यक्षद्धयबीच चारबुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले खण्डन गरेका हुन्।
दाहालका प्रेस संयोजक सापकोटाले दुई अध्यक्षबीच कर्णाली प्रदेशको विषयमा छलफल भएको र यसबारे निर्णय गर्ने जिम्मेवारी प्रदेश पार्टी कमिटी तथा प्रदेश सरकारलाई दिने समझदारी भएको प्रेस नोटमा उल्लेख छ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो’ जुगलले भनेका छन्, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो। यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ।’
तर प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले भने दुई अध्यक्षबीच भएको ४ बुँदे सहमतिमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउन गरेको निर्णय बदर गर्ने र प्रमुख सचेतकमा नियुक्त सीता नेपालीलाई पूर्ववत रुपमा सचेतक कायम गर्ने उल्लेख छ। यसैगरी मुख्यमन्त्री शाहीबिरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिनेबारे पनि सहमति भएको थापाले उल्लेख गरेका छन्।
सापकाेटाले जारी गरेकाे प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय
थापाले जारी गरेको विज्ञप्ति:
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु:
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँ (शाही)द्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७